Ad image

कटीमठको जग्गामा बषौदेखि एउटै व्यक्तिको रजाई,

ताजा अपडेट ब्रेकिंग समाचार सामाज २०७७ बैशाख २६, शुक्रबार १६:४१ गते
106 Views

पकहामैनपुर । पर्साको पकहामैनपुर गाउँपालिका वडा नं.२ सुर्जाहामा रहेको कटी मठको करिब ६ विगहा जग्गा बर्षौदेखि एउटै व्यक्तिले अबैध रुपमा भोग चलन गर्दै आएको रहस्य खुलेको छ ।

मठ, मन्दिर, पाटी पौवाको संरक्षणको जिम्मेवारी स्थानिय तहले पाएपछि उक्त गाउँपालिकाका केहि अगुवाहरु जग्गा नाप नक्सा गरी मठ संरक्षणमा तदरुकता देखाउनुपर्ने गाउँपालिका समक्ष लिखित निवेदन दिएपछि गाउँपालिकाले अमिन खटाएर उक्त जग्गाको नापी गरेपछि ठेक्का सकार भएको जग्गाभन्दा करिब ६ विगहा जग्गा अबैध रुपमा भोगचलन हुदै आएको रहस्य खुलेको हाे ।

राधाकृष्णा भगवान कटीमठको नाममा रहेको उक्त जग्गा बर्षौदेखि मठ व्यवस्थापन समितीको अध्यक्ष समेत रहेका दिनानाथ साह तेलीले अबैध रुपमा भोग चलन गर्दै आएको स्थानिय अगुवा शम्भु यादवले आरोप लगाउनुभयो । गुठी संस्थान मातहत मठ नजिकै रहेको २८ विगहा जग्गा मध्ये गुठी संस्थान शाखा कार्यालय पर्साले विगतदेखि नै २० विगहा १४ कठा खेतीयोग्य जग्गा ठेक्का गर्दै आएको छ ।

बाकी रहेको ६ विगहा जग्गा मठ संचालन खर्चको लागि गुठी संस्थानले छुटयाएको भएपनि निवर्तमान समितीका अध्यक्ष दिनानाथ साहले आफनो निजी सम्पति ठानेर अबैध रुपमा भोगचलन गर्दै आएको स्थानिय युवा तथा मठको संरक्षणको लागि गाउँपालिकाबाट जिम्मेवारी पाएका जन मनजय दासले आरोप लगाउनुभयो ।

मठकोे सरकारी जग्गा मठ व्यवस्थापन समितीको मिली भगतमा चलन चल्तीभन्दा कम भाउमा ठेक्का हुदै आएको स्थानिय धुरुप साहले बताउनुभयो ।

वि.स.२०२९ सालदेखि गुठी संस्थान मातहत रहि राधेकृष्ण भगवान कटीमठको नाममा मठ नजिकै रहेको २९ विगहा जग्गामध्ये गुठी संस्थान शाखा कार्यालय पर्साले ठेक्का गरेको २० विगहा १४ कठठा जग्गा पकहामैनपुर गाउँपालिका वडा नं.२ मधुबनीका ठेकेदार संजय साह तेलीको नाममा २०७४ सालमा प्रति कठा ६० किलो प्रति बर्ष दिने गरि ठेक्का सकार गर्न लगाई नेपाली कांग्रेसका नेता निचुटा निवासी असर्फी साह र निवर्तमान अध्यक्ष दिनानाथ साहले करिब २७ विगहा खेतीयोग्य जग्गा भोगचलन भोग चलन गर्दै आएका छन् ।

यता मठ व्यवस्थापन समितीका निवर्तमान अध्यक्ष दिनानाथ साहले भने मठको संरक्षणको लागि आफुले बर्षौदेखि लागि परेको बताउदै आफुले अबैध रुपमा नभई ठेकेदारबाट उखु खेतीका लागि केहि मात्र जग्गा लिएको बताउनुभयो । ठेक्काभन्दा बढी जग्गा आफुले नभई ठेकेदारले नै जोतखोन गर्दै आएको वहाले बताउनुभयो ।

निवर्तमान अध्यक्ष साहले मठको जग्गा नाप नक्सा गरि ठेक्का अनुसारको जग्गा मात्र ठेकेदारलाई दिनुपर्ने आफुहरु समितीबाट निर्णय गरिसकेको दाबी गर्नुभयो । निवर्तमान अध्यक्ष साहका अनुसार यदि ठेक्काभन्दा बढी जग्गा ठेकेदारले भोगचलन गरेको भए बाकी जग्गाको बाली मठलाई दिनुपर्ने बताउनुभयो ।

राधाकृष्ण भगवान सुर्जाहा कटीमठको नाममा ६४ विगहा जग्गा रहेको छ । उक्त जग्गामा गुठी संस्थान र मठका महन्थ सुरेन्द्र दासबीच हकभोगको विषयलाई लिएर बर्षौदेखि सर्वोच्चमा मुदा चल्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *